हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असोज ३० गते २०८३

स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार ‘दसैँ के हो र कसरी मनाउने ´ विषयमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इतिहासविद् तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले दसैँलाई हिन्दू धर्मावलम्बीको पर्वमा मात्र सीमित गरेर हेर्न नहुने बताउनुभयो । दसैँ नेपालको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय पहिचानसँग जोडिएको पर्व भएको दसैँको ऐतिहासिकता र सांस्कृतिक महत्व रहेको बताउनुभयो । उहाँंले यसको महत्वलाई धार्मिक सीमाभन्दा व्यापक रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो । नेपालमा दसैँ धार्मिक आस्थासँगै पारिवारिक पुनर्मिलन, सामाजिक सम्बन्ध र सांस्कृतिक अभ्याससँग जोडिएको पर्वका रूपमा विकसित भएको यसको राष्ट्रिय स्वरूप र विभिन्न समुदायसँगको सम्बन्धलाई एउटै धार्मिक दृष्टिकोणबाट मात्र व्याख्या गर्न नसकिने विषयमा पनि अध्ययन तथा बहस हुँदै आएको उहाँंको बताउनुभयो । श्रेष्ठले दसैँ भारतबाट आएको पर्व हो भन्ने मान्यता गलत रहेको बताउनुहुँदै यसको ऐतिहासिक पृष्ठभूमि र नेपाली समाजमा विकसित मौलिक परम्पराको अध्ययन आवश्यक रहेको धारणा राख्नुभयो । दसैँलाई करिब दुई हजार वर्ष पुरानो संस्कृतिका रूपमा व्याख्या गर्दै यसको ऐतिहासिकता बुझ्न धार्मिक मान्यतासँगै समाजको सांस्कृतिक विकासक्रमलाई पनि हेर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाले दसैँलाई राष्ट्रिय सुरक्षा दिवसका रूपमा समेत बुझ्नुपर्ने धारणा राख्नुहँदै विचारमा संस्कृति कुनै समाजको चाडपर्व र रीतिरिवाजमा मात्र सीमित हुँदैन । संस्कृति नै समाजको पहिचान र निरन्तरताको आधार हो । संस्कृतिको संरक्षण र निरन्तरता कायम रहन नसके देशको मौलिक पहिचानसमेत कमजोर हुँदै जाने भएकाले सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । दसैँलाई केवल टीका, जमरा, खानपिन र पारिवारिक भेटघाटका रूपमा मात्र बुझ्दा यसको गहिरो ऐतिहासिक तथा सांस्कृतिक पक्ष ओझेलमा पर्न सक्ने उहाको विचार थियो । त्यसैले नयाँ पुस्तालाई दसैँको परम्परा, यसको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक अर्थबारे जानकारी गराउनुपर्ने आवश्यकता उहाले औँल्याउनुभयो ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी, संघका केन्द्रीय सदस्य प्रेमध्वज लामा, संघका जिल्ला अध्यक्ष रेणु त्वानाबासुलगायतले पनि दसैँको सामाजिक महत्व, सांस्कृतिक मौलिकता र आपसी सद्भावबारे धारणा राख्नुभयो । कार्यक्रममा दसैँको ऐतिहासिक तथा सांस्कृतिक पक्षमाथि छलफल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो।

दसैँको उत्पत्ति र ऐतिहासिक विकासक्रमबारे इतिहासकारहरूबीच विभिन्न व्याख्या पाइन्छन् । इतिहासकार महेशराज पन्तले नेपालमा दसैँ मनाइएको लिखित प्रमाण कम्तीमा सन् १३७५ सम्म पछ्याउन सकिने उल्लेख गर्नुभएको छ । यसले दसैँको ऐतिहासिकता अध्ययन गर्दा मौखिक परम्परा, धार्मिक ग्रन्थ, अभिलेख र लिखित प्रमाणलाई छुट्टाछुट्टै विश्लेषण गर्नुपर्ने देखाउँछ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).