2026-09-30 16:16:34
भक्तपुरमा म्युजिक जात्रा ख्वप हुने भक्तपुरमा पहिलो पटक कुम सागरको प्रस्तुति हुने
भक्तपुर असोज १४ गते २०८३
भक्तपुरमा पहिलो पटक ठुलो च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको छ। आज क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलन मार्फत आउने मङ्सिर १२ गते भक्तपुरको सल्लाघारी मैदान १०८ रोपनीमा उक्त कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । भक्तपुरको माटोमा जन्मिएर विश्वभर रहेका नेपाली माझ चर्चित कुमा सागर एण्ड द ख्वपः ब्याण्डले भक्तपुर मै पहिलो पटक प्रस्तुति दिन लागेका हुन्। कुमा सागरसँगै कार्यक्रममा ‘मुक्ति एण्ड रिभाइभल’ तथा ‘निभाः डंगोल एण्ड चबाही दबु’ले पनि प्रस्तुति रहनेछन्। उक्त कार्यक्रम भक्तपुरको सांस्कृतिक र सांगीतिक पहिचानसँग जोडिएको विशेष अवसरका रूपमा हेरिएको छ। कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।
कार्यक्रममा सगीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ।
‘म्युजिक जात्रा–ख्वपः’को मुख्य प्रायोजकको रुपमा ‘एक्सट्रीम एनर्जी ड्रिंक’ रहेको छ । कार्यक्रम हेर्न दर्शकले टिकटको सत्तामा ‘एक्सट्रीम एनर्जी ड्रिंक’को खाली क्यान मात्र ल्याए पुग्ने आयोजकले जनाकारी दिएको छ ।
‘म्युजिक जात्रा–ख्वपः’लाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उद्देश्यसहित आयोजना गर्न लागिएको छ। कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत व्यावसायिक आम्दानी अर्थात् प्रायोजन तथा स्टल भाडाबाट प्राप्त रकम भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ)लाई प्रदान गरिने पनि जानकारी गराएको छ। यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत CBRO लाई प्रदान गरिने आयोजकले जनाएको छ ।











0 Comments