2026-09-30 13:32:22
४६ओैं "नेपाल भाषा साहित्य तःमुंज्या " भनपा ७ गो:मारी यातामा हुने
भक्तपुर असोज १४ गते २०८३
‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नारासहितको " ४६ ओैं नेपालभाषा साहित्य तःमुंज्या" भक्तपुर नपा वडानं. ७ याता गोमारीमा हुने छ । नेपाल सम्बत् ११०० (वि.सं.२०३७) देखि प्रत्येक वर्ष निरन्तररूपमा हुँदै आएको यो कार्यक्रम ने.सं.११४६ कौला थ्व द्वादशी र त्रयोदशी (कार्तिक ६ र ७ गते) विहान ११ बजेदेखि सुरू हुने आयोजकले आज प्रेसमिट गरि जानकारी दिएको छ ।
भाषा, लिपि, साहित्य, कला, संस्कृति र सम्पदा मानव विकासको अमूल्य सम्पत्ति हुन् । यसको उन्नति, प्रगति तथा संरक्षणको लागि योगदान पुर्याउनु हामी सबैको साझा कर्तब्य हो । तःमुंज्याले बहुमत जनताको पक्षमा आवाज उठाउँदै राजनीतिक, सामाजिक र सांस्कृतिक चेतनास्तर बढाउने काम गर्दै आएको छ । तःमुंज्याको प्रमुख उद्देश्य नेपालभाषाको संरक्षण, संवद्र्धन र विकास गर्नुका साथै नेपालभाषा साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धन गर्नु हो । यसका साथै जनजीवनसँग सम्बन्धित सामाजिक विषयलाई साहित्य, कला र सांस्कृतिक प्रस्तुतिमार्फत जनताको चेतना बढाउने उद्देश्य तःमुंज्याले लिँदै आएको प्रेसमिटमा जानकारी दिएको छ ।
नेपालभाषाको प्रयोगलाई नयाँ पुस्तासम्म विस्तार गर्ने, नयाँ स्रष्टालाई सिर्जना र प्रस्तुतीकरणका लागि अवसर प्रदान गर्ने तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्ने कार्यमा तःमुंज्याले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ भन्दै तःमुंज्या केवल साहित्य सम्मेलनमा सीमित नभई साहित्य, संस्कृति र सामाजिक चेतनाको विश्वविद्यालयको रूपमा सञ्चालन हुँदै आएको आयोजकले जानकारी दिएको छ । सम्मेलनमा नेपालभाषामा कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन भइरहेको छ भने आमन्त्रित तथा अतिथि साहित्यकारहरूबाट आ–आफ्नो महत्वपूर्ण रचनासमेत प्रस्तुत हुने गर्दछ ।
भाषा तथा साहित्यसम्बन्धी विज्ञहरूको मन्तव्य, साहित्यकार तथा कलाकारहरूको सम्मान, सामाजिक तथा समसामयिक विषयमा छलफल तथा विचार प्रस्तुति तःमुंज्याको अर्को महत्वपूर्ण पक्ष हुन् भने नाटक, ख्याल, नृत्य, गिती नाटक र गीतहरूको मौलिक प्रस्तुतीकरणबाट तःमुंज्या अझ आकर्षक भइरहेको छ । सामान्यतः कार्यक्रमको पहिलो चरणमा दिउँसो साहित्यिक कार्यक्रम र दोस्रो चरणमा साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन हुने परम्परा हो ।
तःमुंज्याको अर्को विशेषता प्रत्येक वर्ष भक्तपुरका फरक–फरक वडा र टोलहरूमा कार्यक्रम आयोजना हुनु हो । तःमुंज्याको महत्वपूर्ण विशेषता सर्वसाधारण जनतालाई साहित्य र संस्कृतिसँगै सामाजिक विषयलाई प्रशिक्षित गर्नु हो । विगतका तःमुंज्याहरूमा सामाजिक असमानता, अन्याय, श्रमिक तथा किसानका समस्या, शिक्षा, स्वास्थ्य, भाषा तथा संस्कृतिको संरक्षण, राष्ट्रियता, सीमालगायत जनजीवनसँग सम्बन्धित विषयमा साहित्यिक रचना तथा वक्तव्यका माध्यमबाट आवाज उठाउँदै आएको छ । यस कारण तःमुंज्या नेपालभाषाको साहित्यिक कार्यक्रमको रूपमा मात्र नभई भक्तपुरसँगै नेपालको सामाजिक जीवनसँग जोडिएर लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको साहित्यिक, सांस्कृतिक, राजनीतिक तथा सामाजिक चेतनाको सार्वजनिक मञ्चको रूपमा अघिबढिरहेको हो । राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्र हो । यो यथार्थलाई पनि तःमुंज्याले आत्मसात् गर्दै आएको छ । तःमुंज्याको दबुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा साहित्य र सांस्कृतिक विधा एवम् मन्तव्यहरू प्रस्तुत हुँदै आएको छ ।
यसै सिलसिलामा ४६औं नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको प्रचारार्थ आयोजक समितिले यही असोज १७ गते शनिबार विहान ७ बजेदेखि काठमाडौं उपत्यकाको झन्डै ४० किलोमिटरको दुरीमा साइकल र्याली आयोजना गर्दैछ । त्यस्तै तःमुंज्याकै प्रचारार्थ असोज २५ गते शनिबार घटस्थापनाको दिन भक्तपुर दरवारस्क्वायरमा साँझ ५ बजे बाँसुरी बाजा प्रदर्शनी हुनेछ भने तःमुंज्याको अघिल्लो दिन कार्तिक ५ गते दिउँसो २ बजेबाट सुकन्दा र्याली हुने पनि जानकारी गराइएको छ ।
तःमुंज्यालाई नयाँ पुस्ताले नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न अवसरको रूपमा लिने विश्वास लिएको छु । साथै यस दबुमा अन्य भाषा–भाषीको साहित्य र सांस्कृतिक विधा पनि प्रस्तुत हुनेछ । यस दबुले प्रतियोगितात्मक साहित्य वाचनका माध्यमबाट नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने छ ।
नेपाल संवत् ११०० बाट सुरू भएको तःमुंज्या यस वर्ष ४६औँ संस्करणमा प्रवेश गरेको छ । चार दशकभन्दा बढीको यस यात्रामा धेरै उतारचढाव पार गर्दै तःमुंज्याले विभिन्न कालखण्डका सामाजिक, सांस्कृतिक, राजनीतिक तथा साहित्यिक विषयलाई आफ्नो मञ्चमा स्थान दिँदै आएको छ ।
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम सफल बनाउन साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय, सञ्चारकर्मी, उद्यमी, व्यापारी तथा सम्पूर्ण भाषा संस्कृतिप्रेमी महानुभावहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा पनि आयोजकले गरेको छ।











0 Comments