2026-05-02 11:14:33
गो लोकल र भक्तपुर टोस्टमास्टर्स क्लब बिच सहकार्य
भक्तपुर, बैशाख १९ गते २०८३
भक्तपुरको ऐतिहासिक कला, संस्कृति र परम्परागत उद्योगलाई आन्तरिक तथा बाह्य पर्यटनसँग जोड्ने उद्देश्यका साथ क्रियाशील अभियानमा रहेको ‘गो लोकल’ र सञ्चार तथा नेतृत्व विकासमा समर्पित ‘भक्तपुर टोस्टमास्टर्स क्लब बीच एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मध्येपुरको धेराधेस्थित होटल रोयल थाईमा आयोजित उक्त कार्यक्रममा दुवै समूहबीच भक्तपुरको मौलिकता संरक्षण र प्रवर्द्धनका लागि सहकार्य गर्ने छलफल भएको छ । कार्यक्रममा भक्तपुर टोस्टमास्टर्सका प्रतिनिधिहरू सुदिप हाडा, ईश्वर पलिखेल, निरव कायष्ठ, अनिल पाउ र सन्दिप धवा लगायतले प्रभावकारी बैठक सञ्चालनका प्राविधिक पक्षबारे जानकारी गराउनुभयो । उहाँहरूले छोटो समयमा नतिजामुखी बैठक कसरी गर्ने र वक्ताहरूको प्रस्तुतिमा रहेका कमी-कमजोरीलाई रचनात्मक ढंगले कसरी औंल्याउने (Evaluation) र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उपायहरू बारे प्रयोगात्मक सुझावहरू दिनुभयो । त्यसैगरी गो लोकलका संयोजक विरेन्द्र जतिले परम्परागत उद्योगहरूलाई कसरी जीवन्त राख्न सकिन्छ र तिनलाई पर्यटकीय आकर्षणको केन्द्र कसरी बनाउने भन्नेबारे संस्थाले गरिरहेका प्रयासहरू प्रष्ट पार्नुभयो । साथै उहाँले गो लोकल ओझेलमा परेका रैथाने सीप, कला र उत्पादनलाई आधुनिक बजार र पर्यटनसँग जोड्ने एउटा साझा मञ्च हो भन्नुभयो । त्यसैगरी सह-संयोजक रामसुन्दर भेलेले विगतमा सञ्चालित ‘भक्तपुर बाई नाइट कार्यक्रमको अनुभव साट्दै भक्तपुरलाई रात्रीकालीन पर्यटकीय गन्तव्य बनाउन सास्कृतिक सम्पदा यात्रालाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।सदस्य रमिला दुवालले गो लोकलद्वारा प्रकाशित पुस्तक र भिडियोमा समेटिएका १५ वटा मौलिक उत्पादनहरूबारे संक्षिप्त जानकारी दिनुभयो ।भने सदस्य श्रीजना कक्षपतिले गो लोकल अभियानका अन्य विविध गतिविधि र स्थानीय अर्थतन्त्रमा यसले पुर्याउन सक्ने योगदानबारे चर्चा गर्नुभयो ।‘सन्ध्याकालीन सम्पदा यात्राको आयोजना गरिनेभक्तपुरका सम्पदाहरूलाई विश्वभर चिनाउन र स्थानीय उद्योगलाई पर्यटनसँग जोड्ने उद्देश्यले निकट भविष्यमा दुवै टोलीको सहकार्यमा ‘सन्ध्याकालीन सम्पदा यात्रा (Evening Heritage Walk) आयोजना गर्ने भएका छन् ।भक्तपुरका जीवन्त सम्पदा र रैथाने उद्योगको पहिचानलाई विश्वस्तरमा फैलाउन यो सहकार्यले ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ साथै भक्तपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने र युवा पुस्तालाई आफ्नै मौलिक पहिचानप्रति गौरवान्वित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।











0 Comments